रसुवा भोटेकोसी बाढीबाट चलचित्र ‘डबल ट्रिपल’को टिम संयोगले जोगिएको छ । अन्तिम समयमा भएको निर्णयले यो सिनेमाको समग्र टिम बाढीबाट जोगिएको हो ।
अधिकांश छायांकन पूर्वी नेपालमा गरेको सिनेमाको केही सिन नुवाकोटको त्रिशूलीमा सुटिङ गर्ने तयारी भइरहेको थियो । फाइटको सिन त्रिशूलीमा गर्ने व्यवस्थापन प्रोडक्सन म्यानेजरले मिलाइसकेका थिए ।
तर, निर्माण टिममध्येको एकले त्रिशूली किनारको जस्तो लोकेसन काठमाडौंको बालुवाखानीमा रहेको बताएपछि सिनेमेटोग्राफर हेर्न गए । नाइटको सुटिङ भएकाले बालुवाखानीमै खिच्न सकिने सिनेमेटोग्राफरले बताए ।
“तर, प्रोडक्सन म्यानेजर मैले त्रिशूलीमा सबै व्यवस्थापन गरिसकेको छु, त्रिशूलीमै सुटिङ गर्नुपर्छ भनिरहनु भएको थियो,” अभिनेता खगेन्द्र लामिछानेले भने, “तर, निर्देशक अशोक शर्माले काठमाडौंमै गर्ने हो, हाम्रो टिम त्रिशूली जाँदैन भन्नु भयो । अशोक दाइले त्रिशूली नै भए पनि जाउँन त भनेको भए हामी सुटिङका लागि त्रिशूली नै जाने थियौँ ।”
यो सुटिङमा खगेन्द्रसँगै दयाहाङ राई, केकी अधिकारी, मिरुना मगर, अशोक शर्मालगायत ठूलो टिम थियो ।
“यदि, हामी त्रिशूली गएका हुन्थ्यौँ भने हामी बाढीको अघिल्लो दिन रातभर सुटिङ गरेर बिहान ५ बजे होटेलमा गएर सुतेका हुन्थ्यौँ,” खगेन्द्र भन्छन्, “बाढी आउँदा हामी होटेलमा सुतिरहेका हुन्थ्यौँ, के थाहा भाग्नका लागि हामीलाई कसैले बोलाइदिन्थ्यो वा बोलाउँदैनथियो ।”
त्यसैले उनी भोटेकोसी बाढीबाट आफूहरू भाग्य र संयोगले बाँचेको बताउँछन् ।
भदौ १० गते आएको बाढीमा परेर एक हजार ३८६ जनाको मृत्यु पुष्टि भइसकेको छ । पाँच हजार १३० जना अझै बेपत्ता छन् ।
अशोक शर्माको निर्देशन रहेको चलचित्र ‘डबल ट्रिपल’ यही दसैँमा रिलिजको तयारीमा छ ।




