सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको परिसरबाहिर एक महिलाले शिशु जन्माएको घटनामा बयान लिने काम सकिएको छ ।
घटनाको स्थलगत छानबिनका लागि गएको टोलीले ड्युटीमा खटिएकाहरूसँग शुक्रबार बयान लिएको हो । नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा.सुप्रभात श्रेष्ठले अस्पतालमा भएको घटनाको स्थलगत निरीक्षण तथा ड्युटीमा रहेका नर्सिङ स्टाफ, निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) लगायत घटनासँग जोडिएका सम्पूर्ण व्यक्तिहरूसँग बकपत्र तथा बयान लिइएको बताए ।
उनले भने,”अस्पतालका निर्देशकदेखि लिएर घटनामा मुछिएका कर्मचारीहरू र पीडित पक्षका आमा-बुवासँग समेत सोधपुछ गरी बयान दर्ता गरेको हो। छानबिन प्रक्रियाको एउटा प्रमुख हिस्साका रूपमा लिइएको यस बयानलाई सङ्कलन गरी टोली अब काठमाडौँ फर्कने तयारीमा रहेको छ।”
काठमाडौँ फर्किएपछि टोलीले प्राप्त बयानहरूलाई विद्यमान नियम र कानुनसँग तुलना गरी कहाँ कसको कमी-कमजोरी वा लापरबाही भएको हो भन्नेबारे विस्तृत अध्ययन गर्नेछ।
सोही अध्ययनका आधारमा तयार पारिने अन्तिम प्रतिवेदन सम्बन्धित निकायमा बुझाइनेछ। सो प्रतिवेदनका आधारमा नै दोषीमाथि के-कस्तो कारबाही गर्ने र अगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारे आधिकारिक निर्णय लिइने टोलीले जनाएको छ।




