दुबई, युएई — १६ अगस्ट २०२६ । सिर्जना वाचन डबली, युएईको २९औँ शृङ्खला विविध साहित्यिक कार्यक्रमका साथ बरदुबई आब्रास्थित गाउँबेशी रेष्टुरेन्टमा भव्य रूपमा सम्पन्न भएको छ।
सिर्जना वाचन डबलीका संरक्षक टक गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा जे.सागरज्यूको संयोजन र कार्यक्रम सञ्चालन श्री भवानी नेपालले गर्नुभएको थियो। कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का मध्यपूर्व सह–संयोजक श्री विकास शाहीको प्रमुख आतिथ्यता रहेको थियो भने युएईमा स्थापित विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्व तथा साहित्यप्रेमी र र सर्जकको राम्रै भिड थियो।
२९औँ शृङ्खलाका अवसर पारी कार्यक्रमको प्रमुख आकर्षणका रूपमा सिर्जना वाचन डबलीको लोगो अंकित पोशाक सार्वजनिक गरिएको थियो उक्त पोशाक प्रायोजन गरिदिनुभएकोमा प्रभु बैंक तथा युएई राज्य प्रमुख डा. प्रकाश पौडेल ज्यूप्रति सिर्जना वाचन डबली परिवारले विशेष आभार व्यक्त गरेका थिए ।
साहित्यप्रतिको सम्मान र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा सर्जकहरूलाई उपहार स्वरूप विविध विधाका पुस्तकहरु प्रदान गरिएको र यस कार्यलाई सहभागीहरूले सकारात्मक रूपमा लिएका थिए ।
कार्यक्रममा करिब ३० जना सर्जकहरूले आफ्ना मौलिक रचना कविता, गजल, मुक्तक लगायत विभिन्न विधाका सिर्जनाहरू वाचन गरेका थिए । प्रवासमा नेपाली भाषा, साहित्य र सिर्जनालाई सन् २०१४ देखि निरन्तरता दिँदै आएको सिर्जना वाचन डबलीले नियमित रूपमा आयोजना गर्दै आएको शृङ्खलाको निरन्तरताका रूपमा २९औँ शृङ्खला पनि सफलतापूर्वक सम्पन्न भएको हो। कार्यक्रमले युएईमा रहेका नेपाली सर्जकहरूलाई एउटै साहित्यिक मञ्चमा जोड्दै नेपाली साहित्यको प्रवद्र्धन र संरक्षणमा थप योगदान र्पुयाएको आयोजकको विश्वास ।




