‘मौलिकता भएका गीत आउनै छाडे’

३८ वर्षअघि सिन्धुपाल्चोकको लिशंखु, ठूलोपाखरमा जन्मिएका अविनाश घिसिङ पपसंगीतमा परिचित नाम हो । नयाँ एल्बम ‘द काप्रेन्टर मेन’ को तयारीमा रहेका उनले लकडाउनअघि ‘माथिल्लो लेकमा (सेलो टन)’ सार्वजनिक गरेका थिए । युट्युबमा बीस लाखभन्दा बढी भ्युज पाएको उक्त गीत एल्बममा पनि समावेश हुनेछ । लकडाउनको एकदिन अघि आयरल्याण्ड पुगेका उनी अहिले उतै छन् । उनीसँग साप्ताहिकका लागि राजाराम पौडेलले गरेको कुराकानीः

कोरोना महामारीकै समयमा ‘कमब्याक’ कस्तो रह्यो ?

केहि वर्षपछि सांगीतिक क्षेत्रमा कमब्याक गरेको हुँ, त्यसैले यसले मेरो यात्रमा पनि असर पर्‍यो । तथापि यसैबीच दर्शक–श्रोताको साथ पाएँ । उहाँहरूले मेरो कमब्याक स्वीकार्नुभयो । पार्टी, क्लब, महोत्सव, विवाह, सवारीसाधन आदिमा गीत बज्ने माहोलचाहिँ भएन । फुर्सदको समयमा घरमै बसेर टिकटक बनाउनेचाहिँ धेरै भए । ‘माथिल्लो लेकमा’ गीतको पनि टिकटक धेरै बने । जुन अहिलेसम्म पनि जारी छ । यो मेरो लागि फाइदाजनक भयो ।

युट्युबमा राम्रो भ्युज पाउनुभयो नि है ?

यस्तो अवस्थामा पनि दुई मिलियन भ्युज पुग्नु मेरा लागि असाध्यै लाभदायक र सुखद कुरा हो । यो गीत सफल हुनका लागि सुबानी मोक्तान, अराज केशब, मोहित मुनाल, विभोर पोखरेल, मिलन शंकर र अनिल के मानन्धरको ठूलो साथ रह्यो । साथीहरूसँग भेटेर खुशी सेयर गर्न पनि पाएको छैन । किनकि अहिले म आयरल्याण्डको डब्लिनमा छु ।

आयरल्याण्डचाहिँ किन जानुभएको ?

यहाँ मेरो विशेष काम थियो । वैवाहिक जीवनमा बाधिने तयारी । सात वर्ष भयो अफेयर चलेको तनुजा बमजनसँग । उहाँसँग विवाह गर्दैछु । उहाँ आइरल्याण्ड बस्ने भएकाले इन्गेजमेन्टको लागि यहाँ आएको हुँ । कोरोनाको महामारीको प्रभाव यहाँ पनि छ, लकडाउन भएको थियो । गत सोमबारबाट बिस्तारै अवस्था सामान्य हुँदैछ । बाहिर खासै निस्कन पाएको छैन । अवस्था सहज भएपछि नेपाल फर्कन्छु ।

वैवाहिक जीवनका लागि अग्रिम शुभकामना ! अब संगीतकै कुरा गरौं, माथिल्लो लेक कस्तो गीत हो ?

यसको बिट अलिक फरक छ । ल्याटिनो टाइपको बिट हो, ‘रेगटन’ भन्छ यसलाई । त्यसलाई मैले मौलिक नाम दिएर ‘सेलोटन’ बनाएको हुँ । बाहिर गएकी प्रेमिकाको प्रतीक्षा गरिरहेको प्रेमीले रुमलिएर सहरमा बस्नुभन्दा आफ्नै लेकतिर फर्कन्छु भन्ने भाव गीतमा छ । शब्दमा सक्दो मौलिकता दिन खोजेको छु । हाम्रो संस्कृतिलाई नयाँ पुस्तासँग जोड्ने कोसिस गरेको छु । सुदूर पश्चिमेली ¥याप शैली छ अराज केशवले गर्नुभएको । त्यसले पनि गीत राम्रो बनेको छ । सुरुमा सुन्दा नबुझिन पनि सक्छ । तर सुन्दै गरेपछि बुझिन्छ । गायिका सुबानी मोक्तान पनि धेरै वर्षपछि आउनुभएको छ । सेलो, देउडा, रेगटन र सेलोटन मेलेडी मिसिएको गरेको नेपाली गीत सायदै कुनै होला । एउटै मानिसको स्वर सुन्दा मानिसलाई ‘मोनोटोनस’ हुन सक्छ भन्ने सोचेर नै तीनजनाले चार मिनेट चानचुनको गीत गाएका छौं । भिडियो पनि राम्रो बनेको छ ।

श्रोतालाई किन ५ वर्ष कुराउनुभको नि ?

मेरो व्यक्तिगत कामले गर्दा हो । अध्ययन पनि गर्दै थिएँ । यसबीचमा संगीतबारे धेरै अध्ययन गरेँ । पछिल्लो डेढ वर्षमा अवधिमा दुई गीत पनि तयार पारेँ । अर्को ‘क्याटमान्डु’ गीत आउँदैछ । प्रशान्त तामाङ, सुबानी मोक्तान र मैले सँगै काम गरेका छौँ । यो काठमाडौँ र टिकटकबारे गीत हो ।

अबका योजना के छन् ?

अब केही वर्ष गीत–संगीतमा नै व्यस्त हुनेछु । सामाजिक कार्य गर्ने सोच पनि छ । देशको लागि केही न केही योगदान त दिनैपर्छ । विशेषतः कला–संस्कृतिको प्रबद्र्धन गर्ने धोको छ । राजनीतिमा पनि रुचि छ । अध्ययन गर्दैछु सिक्दैछु । समाज परिवर्तनका लागि केही गर्ने सोच बनाउँदैछु ।

spot_img

Related articles

श्रीलंकालाई पराजित गरेसंगै नेपाल सेमिफाइनलमा

नेपाल साफ महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा...

काभा महिला भलिबल: आफ्नो पहिलो खेलमा नेपाल भारतसँग पराजित

नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा चिरपरिचित प्रतिनिद्वन्द्वी भारतसँगको पहिलो...

स्वस्तिमा खड्काको भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’को दुई सातामा पाँच करोड २५ लाख कमाइ…

रास्वपाका सांसद्‌माथि आफ्नै पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन् ।...

दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ले...

मन बिनाको धन दुईमा महेश त्रिपाठीको प्रवेश

प्रसिद्ध संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको...
advertisementspot_imgspot_img