गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बदलिँदो विश्व परिवेश अनुसार प्रविधिको अवलम्बन अपरिहार्य रहेको बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनमा उनले यस्तो बताएका हुन् ।
संवैधानिक व्यवस्थाको चर्चा गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश कानुन संघीय कानुनसँग बाझिएको अवस्थामा संघीय कानुन नै मान्य हुने स्पष्ट पारे ।
यस क्षेत्रको समस्या समाधानका लागि संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूले पनि कानुन निर्माण र लबिइङमा सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।
गत वर्ष राइड सेयरिङ सेवालाई कानुनी मान्यता दिँदा भएको विरोधका सन्दर्भमा मुख्यमन्त्री पाण्डेले व्यवसायीहरूलाई प्रविधिको महत्त्व बुझाउन आवश्यक रहेको बताए ।
उहाँले भने, ‘संविधानले स्पष्ट भनेको छ कि प्रदेश र संघको कानुन बाझिएमा संघकै कानुन लागु हुन्छ । त्यसैले सबै कुरा प्रदेश सरकारको एकल अधिकारभित्र मात्र पर्दैनन् । हामी प्रविधिमा नगई सुखै छैन । संसार प्रविधिमा गइसक्यो, ढिलो वा चाँडो हामीले पनि यसलाई आत्मसात गर्नैपर्छ। यो कसैको व्यवसाय विस्थापित गर्न वा लगानी निरुत्साहित गर्न ल्याइएको होइन ।’


