काठमाडौँको मेयरका रुपमा वालेन्द्र शाह (बालेन)को छवि ‘एक्सन’ र ‘डेलिभरी’ दिने व्यक्तिका रुपमा बनेको थियो। त्यही छविले उनलाई प्रधानमन्त्रीसम्मको यात्रा तय गराएको एक महिना पूरा भइसकेको छ। बालेन प्रधानमन्त्री नियुक्त भएकै दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी नर्सिङ पृष्ठभूमिकी निशा मेहताले पाइन्।
मेहतालाई स्वास्थ्यसँगै खानेपानी जस्तो संवेदनशील मन्त्रालयको भार पनि सुम्पिएको छ। तर, दुई तिहाइ बहुमत नजिकको शक्तिशाली सरकार र एउटै दलका प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री भएको यो ‘अनुकुल समय’मा स्वास्थ्य क्षेत्रले उति ‘सन्चो’ महशुस गर्न सकेको छैन । कामको गति जति हुनुपर्ने थियो, त्यो देखिदैन । बरु स्वास्थ्य मन्त्री र उनको टिम ‘कुहिरोको काग’ जस्तो देखिन थालेका छन्।
एक महिनाको अवधिलाई हेर्दा सरकार स्वास्थ्यमा के गर्ने र कसरी अगाडि बढ्ने भन्ने अन्योल, अलमल र ‘हनिमुन पिरियड’को अल्छ्याइँमै रुमल्लिएको देखिन्छ। आगामी आर्थिक वर्षका लागि बजेट बनाउने महत्वपूर्ण समयमा स्वास्थ्य मन्त्री मेहताले भने स्वास्थ्य क्षेत्रमा के-के विषयमा प्राथमिकता दिने र बजेटमा के विषय राख्ने भन्ने योजना समेत दिन सकेकी छैनन्। स्वास्थ्य मन्त्री मेहताले स्वास्थ्य क्षेत्रमा सरकारले चाहेको ‘डिपार्चर’ यस्तो हो र हामीले यसरी काम गर्नुपर्छ भन्ने कुरा समेत कर्मचारीहरुलाई बताउन सकेकी छैनन्।


