विश्व ऊर्जा राजनीतिमा नयाँ मोड ल्याउने निर्णय गर्दै संयुक्त अरब इमिरेट्स (युएई)ले तेल उत्पादक राष्ट्रहरूको सङ्गठन ओपेकबाट बाहिरिने घोषणा गरेको छ। युएईको यो घोषणाले क्षेत्रीय शक्ति सन्तुलन र तेल बजार दुवैमा असर पार्ने सङ्केत दिएको छ। लामो समयदेखि चर्चामा रहेको यो निर्णय मे १ देखि कार्यान्वयनमा आउने बताइएको छ ।
राज्यद्वारा सञ्चालित डब्लुएएम समाचार एजेन्सीमार्फत सार्वजनिक गरिएको घोषणामा युएईले आफ्नो दीर्घकालीन रणनीतिक र आर्थिक प्राथमिकताअनुसार यस्तो कदम चालिएको स्पष्ट पारेको छ। पछिल्लो समय घरेलु ऊर्जा उत्पादनमा तीव्र लगानी र बदलिँदो ऊर्जा प्रोफाइललाई मध्यनजर गर्दै आफूलाई विश्व ऊर्जा बजारमा अझ स्वतन्त्र र सक्रिय रूपमा प्रस्तुत गर्ने लक्ष्य यस निर्णयको केन्द्रमा रहेको जनाइएको छ ।


