रामकुमारी झाक्री नेकपा एमालेको तर्फबाट हाल राष्ट्रिय सभा सदस्य छिन् । झाक्री २० वर्ष अघि लोकतन्त्र स्थापनाका लागि तत्कालीन शाही सरकारविरुद्ध सडक आन्दोलनमा उत्रनेमध्यकी एक सशक्त विद्यार्थी नेतृ थिइन् । २० बर्से लोकतान्त्रिक व्यवस्थामा नेतृ झाक्रीसँग रातोपाटीले सोधेको छ –कमजोरी कहाँ र कसले गर्यो त ? प्रस्तुत छ, उनीसँग लोकतन्त्र र अहिलेको अवस्थाबारे गरिएको छोटो कुराकानी-
- तपाईंहरू लोकतन्त्रका लागि लड्नुभयो, २० वर्षको लोकतान्त्रिक अभ्यास कस्तो पाउनुभयो ?
यो लोकतन्त्र २१ औँ शताब्दीको एउटा नयाँ खण्ड हो । नेपालमा प्रजातन्त्र त २००७ सालमै आएको थियो, जहाँ हाम्रा अग्रजहरूले जहानियाँ राणा शासनविरुद्ध लडाइँ गर्नुभयो ।
२०४६ सालमा प्रजातन्त्रको पुनः प्राप्ति भयो । तर, २०६२/६३ को क्रान्तिपछि हामीले नयाँ–नयाँ शब्दावली प्रयोग गर्न थाल्यौँ । समाजमा रहेका अपमानजनक कानुन र प्रणालीलाई त्यो क्रान्तिले फेरिदियो, त्यसैले यसलाई ‘लोकतन्त्र’ भनियो ।
यो लोकतन्त्रले भरियालाई ‘जनजाति’ पहिचान दियो, बालीघरेलाई ‘दलित’ पहिचानसहितको नागरिक बनायो । श्रमको मूल्य नहुनेलाई मूल्य दियो, महिलालाई ‘मान्छे’ को दर्जा दियो र आदिवासी जनजाति एवं सीमान्तकृतलाई राज्यको अंशियार बनायो ।
२००७ सालभन्दा अगाडिदेखि सुरु भएको सङ्घर्षको समुच्चय नै ६२/६३ को ऐतिहासिक जनक्रान्ति थियो । वामपन्थी राजनीतिमा हामीले यसलाई ‘पुँजीवादी क्रान्ति’ सम्पन्न भएको भनेर व्याख्या पनि गरेका थियौँ ।
- क्रान्तिपछि हामी अर्थात् राजनीतिक नेतृत्वले लिएको बाटो सही थियो ?
क्रान्तिपछि दुई वटा बाटा थिए,यो सत्य हो । एउटा बाटो थियो–प्राप्त उपलब्धिबाट राष्ट्रिय पुँजी निर्माण गर्ने, उत्पादन र उत्पादकत्व बढाउने, रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर हुँदै स्वाधीन अर्थतन्त्र निर्माण गरेर समाजवादतर्फ जाने ।
अर्को बाटो थियो– सबै कुरा बजारलाई छोडिदिने । बजार अर्थतन्त्रको थियो । हाम्रो संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ, तर गएको २० वर्षमा हामी त्यता गएनौँ । हामी आफै पनि दलाल पुँजीपति र बिचौलियाहरूको पक्षमा काम गर्दै गयौँ । अन्ततः बिचौलियाले राजनीति मात्र होइन, राज्यका सबै संयन्त्र र मुद्दाहरू नै ‘हाइज्याक’ गरे । यो सबै कमजोरी हाम्रै हो, किनकि क्रान्तिपछि सही बाटो निर्धारण गर्न हामी नै चुक्यौँ ।


