३८ वर्षअघि सिन्धुपाल्चोकको लिशंखु, ठूलोपाखरमा जन्मिएका अविनाश घिसिङ पपसंगीतमा परिचित नाम हो । नयाँ एल्बम ‘द काप्रेन्टर मेन’ को तयारीमा रहेका उनले लकडाउनअघि ‘माथिल्लो लेकमा (सेलो टन)’ सार्वजनिक गरेका थिए । युट्युबमा बीस लाखभन्दा बढी भ्युज पाएको उक्त गीत एल्बममा पनि समावेश हुनेछ । लकडाउनको एकदिन अघि आयरल्याण्ड पुगेका उनी अहिले उतै छन् । उनीसँग साप्ताहिकका लागि राजाराम पौडेलले गरेको कुराकानीः
कोरोना महामारीकै समयमा ‘कमब्याक’ कस्तो रह्यो ?
केहि वर्षपछि सांगीतिक क्षेत्रमा कमब्याक गरेको हुँ, त्यसैले यसले मेरो यात्रमा पनि असर पर्यो । तथापि यसैबीच दर्शक–श्रोताको साथ पाएँ । उहाँहरूले मेरो कमब्याक स्वीकार्नुभयो । पार्टी, क्लब, महोत्सव, विवाह, सवारीसाधन आदिमा गीत बज्ने माहोलचाहिँ भएन । फुर्सदको समयमा घरमै बसेर टिकटक बनाउनेचाहिँ धेरै भए । ‘माथिल्लो लेकमा’ गीतको पनि टिकटक धेरै बने । जुन अहिलेसम्म पनि जारी छ । यो मेरो लागि फाइदाजनक भयो ।
युट्युबमा राम्रो भ्युज पाउनुभयो नि है ?
यस्तो अवस्थामा पनि दुई मिलियन भ्युज पुग्नु मेरा लागि असाध्यै लाभदायक र सुखद कुरा हो । यो गीत सफल हुनका लागि सुबानी मोक्तान, अराज केशब, मोहित मुनाल, विभोर पोखरेल, मिलन शंकर र अनिल के मानन्धरको ठूलो साथ रह्यो । साथीहरूसँग भेटेर खुशी सेयर गर्न पनि पाएको छैन । किनकि अहिले म आयरल्याण्डको डब्लिनमा छु ।
आयरल्याण्डचाहिँ किन जानुभएको ?
यहाँ मेरो विशेष काम थियो । वैवाहिक जीवनमा बाधिने तयारी । सात वर्ष भयो अफेयर चलेको तनुजा बमजनसँग । उहाँसँग विवाह गर्दैछु । उहाँ आइरल्याण्ड बस्ने भएकाले इन्गेजमेन्टको लागि यहाँ आएको हुँ । कोरोनाको महामारीको प्रभाव यहाँ पनि छ, लकडाउन भएको थियो । गत सोमबारबाट बिस्तारै अवस्था सामान्य हुँदैछ । बाहिर खासै निस्कन पाएको छैन । अवस्था सहज भएपछि नेपाल फर्कन्छु ।
वैवाहिक जीवनका लागि अग्रिम शुभकामना ! अब संगीतकै कुरा गरौं, माथिल्लो लेक कस्तो गीत हो ?
यसको बिट अलिक फरक छ । ल्याटिनो टाइपको बिट हो, ‘रेगटन’ भन्छ यसलाई । त्यसलाई मैले मौलिक नाम दिएर ‘सेलोटन’ बनाएको हुँ । बाहिर गएकी प्रेमिकाको प्रतीक्षा गरिरहेको प्रेमीले रुमलिएर सहरमा बस्नुभन्दा आफ्नै लेकतिर फर्कन्छु भन्ने भाव गीतमा छ । शब्दमा सक्दो मौलिकता दिन खोजेको छु । हाम्रो संस्कृतिलाई नयाँ पुस्तासँग जोड्ने कोसिस गरेको छु । सुदूर पश्चिमेली ¥याप शैली छ अराज केशवले गर्नुभएको । त्यसले पनि गीत राम्रो बनेको छ । सुरुमा सुन्दा नबुझिन पनि सक्छ । तर सुन्दै गरेपछि बुझिन्छ । गायिका सुबानी मोक्तान पनि धेरै वर्षपछि आउनुभएको छ । सेलो, देउडा, रेगटन र सेलोटन मेलेडी मिसिएको गरेको नेपाली गीत सायदै कुनै होला । एउटै मानिसको स्वर सुन्दा मानिसलाई ‘मोनोटोनस’ हुन सक्छ भन्ने सोचेर नै तीनजनाले चार मिनेट चानचुनको गीत गाएका छौं । भिडियो पनि राम्रो बनेको छ ।
श्रोतालाई किन ५ वर्ष कुराउनुभको नि ?
मेरो व्यक्तिगत कामले गर्दा हो । अध्ययन पनि गर्दै थिएँ । यसबीचमा संगीतबारे धेरै अध्ययन गरेँ । पछिल्लो डेढ वर्षमा अवधिमा दुई गीत पनि तयार पारेँ । अर्को ‘क्याटमान्डु’ गीत आउँदैछ । प्रशान्त तामाङ, सुबानी मोक्तान र मैले सँगै काम गरेका छौँ । यो काठमाडौँ र टिकटकबारे गीत हो ।
अबका योजना के छन् ?
अब केही वर्ष गीत–संगीतमा नै व्यस्त हुनेछु । सामाजिक कार्य गर्ने सोच पनि छ । देशको लागि केही न केही योगदान त दिनैपर्छ । विशेषतः कला–संस्कृतिको प्रबद्र्धन गर्ने धोको छ । राजनीतिमा पनि रुचि छ । अध्ययन गर्दैछु सिक्दैछु । समाज परिवर्तनका लागि केही गर्ने सोच बनाउँदैछु ।


