नेपालको शिक्षा प्रणाली महत्त्वपूर्ण दोबाटोमा उभिएको छ । विगत केही दशकमा हामीले उल्लेख्य प्रगति गरेका छौँ । विद्यालय पुगेका बालबालिकाको संख्या बढेको छ । माध्यमिक तहसम्मको पहुँच विस्तार भएको छ तथा शिक्षाको महत्वबारे सामाजिक चेतना पनि पहिलेभन्दा उच्च छ ।
तर यति मात्रले शिक्षा प्रणाली सफल भएको मान्न सकिँदैन । प्रश्न विद्यालयमा कति जना पुगे भन्ने होइन । प्रश्न के हो भने– विद्यार्थीले विद्यालयमा के सिकिरहेका छन् ? शिक्षा उनीहरूको जीवन, रोजगारी र भविष्यसँग कसरी जोडिएको छ ?
नेपालमा शिक्षा सुधारबारे धेरै काम भएको छ । नीति आयो, आयोग बने, योजना बनाइए, परियोजना चलाइए तथापि अपेक्षित परिणाम आउन सकेन । किन ? यसको उत्तर खोज्न नेपालले अब आफ्नै सीमाभित्र रहेर मात्रै होइन, विश्वका अनुभवबाट सिक्नुपर्छ । तर यहाँ ध्यान दिनु पर्ने महत्त्वपूर्ण विषय के हो भने कुनै पनि देशको नतिजा राम्रो देखियो भन्दैमा त्यसको एउटा कार्यक्रम नक्कल गरेर हाम्रो समस्या समाधान हने छैन ।


