नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अभिनेता राजेश हमालको आज जन्मदिन । उमेरले उनी ५६ टेके तर आफूलाई अझै २१ बर्षे भन्न रुचाउँछन् । उनको करिब तीन दशकको फिल्म यात्रामा केन्द्रित रहेर अनिल यादवले उनीसँग गरेको कुराकानी:

आफ्नो फिल्म यात्रा सम्झँदा कस्तो लाग्छ ?

मेरोमात्रै होइन, नेपाली चलचित्रकै वास्तविक इतिहासको नक्सा बुझ्न अर्थात त्यतिबेला फिल्म कसरी बन्यो, कसरी विस्तार भयो, त्यसबेला आएका कलाकारले के गरे, किन गरे र किन उनीहरू त्यसरी चले भन्ने बुझ्न आजको सुविधा र चश्मा लगाएर मुल्यांकन गर्नु अन्याय हुन्छ । विगत बुझ्न त विगतकै परिस्थितिमा जानुपर्छ । विगतकै चश्मा लगाउनुपर्छ । यहाा आजको माहोलमा उभिएर, आजको चश्मा लगाएर विगतको मूल्यांकन भइरहेको छ । आज यस्तो गरियो, त्यो बेला किन यस्तो हुन सकेन जस्ता प्रश्न उठिरहेका छन् । यो हिसाबले इतिहासमाथि अन्याय भइरहेको हो कि जस्तो लाग्छ ।

कुनै पनि कार्य आफैं सानो–ठूलो हुँदैन । तर, त्यो कार्य कुन परिस्थितिमा सम्पन्न भयो, त्यसले अर्थ राख्छ । जस्तो, तपाईं एउटा अनकन्टार टापुमा हुनुहुन्छ, केही स्रोत साधन छैन, त्यस्तो टापुमा एक्लै अड्किएका बेला ढुंगालाई ठोकेर हुन्छ कि के गरेर हुन्छ, आगो उत्पादन गर्न सक्नुभयो भने त्यो भयंकर ठूलो उपलब्धी हुन्छ । त्यसमा खुसीको सीमा हुँदैन । तर, अत्याधुनिक किचनमा बसेर ग्यास बाल्नुभयो भने त थप्पडी बजाउन त कोही आउँदैन नि !

सिनेमाको जग बसाल्ने बेलामा तपाई फिल्म क्षेत्रमा आउनुभयो । तीन दशकपछि समीक्षा गर्दा यसले कति हाँगाबिँगा फैलायो, कति फल दियो भन्ने लाग्छ ?

मलाई त नेपालजस्तो राष्ट्रमा पनि फिल्म क्षेत्र छ है भन्नु नै ठूलो कुरा हो । यहाँ पनि फिल्मको कामहरू भइरहेका छन्, यहाँ पनि फिल्मको कलाकारहरू छन् भन्नु नै ठूलो विषय हो ।

अर्को कुरा, राम्रो/नराम्रो जस्तोसुकै फिल्म बनेता पनि बन्ने क्रमचाहिँ निरन्तर छ । ठप्प छैन । यसको अर्थ कुनै न कुनै मोडमा गएर यसले नयाँ रूप त लिन्छ भन्नेमा विश्वस्त छु ।

नेपाली फिल्मको अर्को सकारात्मक पक्षचाहिँ के हो भने दर्शकहरूले यसलाई मन पराए पनि, नपराए पनि उपेक्षाचाहिँ गरेका छैनन् ।

सिनेमा त ‘मास’सँग जोडिएको विषय हो तर यसलाई यहाँ हल्का रूपमा लिइयो भन्ने लाग्दैन ?

यो क्षेत्रमा म आउनु ४० वर्षअघि नै ‘राजा हरिश्चन्द्र’ बनिसकेको थियो तर त्यसपछिको अवधिमा १०/१२ वटामात्रै फिल्म बनेका थिए । तर, म आएकै वर्ष त्यति नै संख्यामा फिल्म गरेँ ।

जतिबेला तपाईं फिल्ममा आउनुभयो, राजनीतिक परिवर्तन भयो, नेपाली समाज मिडिया, सिनेमालगायत सबै क्षेत्रमा उदार भयो, त्यसैले धेरै सिनेमाहरू बनेका होलान् नि, होइन ?

चलचित्र पनि मिडियाकै एउटा पाटो हो । त्यसबेला मैले पनि मिडिया विस्तार भएको देखिरहेको थिएँ , विशेषगरी पत्रपत्रिका र रेडियो । २० वर्षअघि कुन एफएम खुल्यो भन्ने मलाई थाहा हुन्थ्यो, तर अहिले कतिवटा एफएम छ भन्ने थाहा छैन । त्यो समयमा मलाई के लागेको हो भने सिनेमा पनि मिडियाजस्तै हो, जसरी मिडिया फस्टाउँछ, यो पनि फस्टाउँछ ।

नेपालमा पहिलो चलचित्र भवन पनि म आउनुभन्दा धेरै अघि नै बनेको हो । तर, सन् १९६० बाट ९० सम्म पनि काठमाडौंमा चारवटा हलमात्रै थिए –जय नेपाल, विश्वज्योती, रन्जना र अशोक । हामीले त्यतिबेला चलचित्रको ठूलो भविष्य किन नदेखेको हो भने बनाउनुमात्रै ठूलो कुरा थिएन, बनाएर प्रदर्शन गर्ने ठाउँ खोइ त भन्ने प्रश्न पनि थियो ।

म आएपछि सानोतिनो क्रान्ति भयो भनेर किन पनि दाबी गर्छु भने लगानीकर्ताले सफ्टवेयर बनाउने परिस्थिति त देखे, सफ्टवेयर बनाउन थालिसकेपछि हार्डवेयर पनि त बनाउनुपर्‍यो । केही उपाय नलागेपछि पछि देशभर भिडियो हल छ्याप्छ्याप्ती खुल्न थाल्यो । हाइभिजन भनिन्थ्यो त्यसलाई । त्यो हाइभिजन खुल्नुको कारण थियो– धेरै चलचित्र निर्माण हुन थाल्नु ।

जनयुद्ध उत्कर्षमा पुग्नु अगाडिसम्म फिल्म वितरण प्रणाली पनि राम्रो बनिसकेको थियो । र, वितरण प्रणालीको विकास भएका कारण चलचित्रमा काम गर्नेले समेत निर्माण गर्न थाले । त्यसअघि एक ढिक्का पैसा भएको मान्छेले मात्रै सिनेमा बनाउन सक्थ्यो । किनभने सिनेमा बनाउन ४०–५० लाख चाहिन्थ्यो ।

मैले फिल्म खेल्दै गएपछि सिनेमासँग आबद्ध प्रोडक्सन म्यानेजरहरूले पनि खल्तीमा पैसा नभए पनि सिनेमा बनाउन सके । राजेश हमाललाई लिएको छु भन्ने बित्तिकै वितरकले समेत फिल्म बनाउनका लागि एडभान्समा पैसा दिन्थे । अनि हाइभिजनहरूले अरूका फिल्मलाई २० हजार दिन्थे भने मेरो फिल्म ल्याउनेलाई ३५ हजार दिन्थे ।

मैले सिनेमा गर्नासाथ मसँगै अरू सयौंले काम पाइरहेका थिए । हिजो मसँग सिनेमा गर्दा क्यारेक्टर आर्टिस्टहरूले पनि जुन किसिमको लोकप्रियता हासिल गरे, आजको अवस्थामा म त्यो माहोल देखिरहेको छैन । त्यो बेलामा भिलेन पनि प्रख्यात हुन्थ्यो, आमा र बुबाको भूमिका गर्ने मान्छे पनि उत्तिकै चर्चित हुन्थ्यो । हसाउने मान्छे प्रख्यात हुन्थ्यो, फाइट डिरेक्टर प्रख्यात हुन्थ्यो, डान्स डिरेक्टर प्रख्यात हुन्थ्यो । र, तिनीहरू सबैले व्यस्त हुने माहोल मैले लगातार फिल्म गरिरहेका कारणले नै पाउँथे । अहिले आमा, बुबाको रोल गर्नेले त्यो बेलाको जसरी प्रख्यात र व्यस्त भएको पाउनुहुन्छ ? यो तपाइहरूले नै समीक्षा गर्ने विषय हो ।

तर, त्यो बेलाको माहोल र प्रतिष्पर्धाले नेपाली फिल्मको गुणस्तरको विकासमा भने खासै काम गर्न नसकेको जस्तो लाग्दैन ?

फेरि, तपाइले आजको चश्मा लगाएर हेर्नुभयो क्या ! त्यो बेलामा त्यसो नभएको भए त ‘क’ बाट ‘ख’ बिन्दुमै जाँदैनथ्यो नि । जब फिल्म बनाउने वातावरण नै छैन भने त्यहाँ क्वालिटीको कसरी कुरा गर्नु हुन्छ ?

सिनेमाले त सम्बन्धित देशको समाजसँग बलियो अन्तरक्रिया गर्नुपर्ने हो, त्यहाँको समाजमा गहिरो प्रभाव छाड्न सक्नुपर्ने हो । तर, नेपाली सिनेमा यस मामिलामा किन कमजोर देखिएको ?

मैले तपाईंलाई अघि नेपाली फिल्मको सकारात्मक चर्चा गरेँ । अब यसको नकरात्मक पक्षको कुरा गर्छु । ९० को दशकतिरको कुरा गर्ने हो नेपाली फिल्म र भारतीय फिल्मबीच खासै ठूलो भिन्नता महसुस हुन्न । म फिल्म क्षेत्रमा लागेको करिब १२ वर्षसम्म अर्थात त्यस्तै सन् २००२ सम्म हामी एकदमै समयसापेक्ष थियौं । बहुसंख्यक दर्शकको स्वादअनुसार नै फिल्म बनिरहेको थियो तर जब त्यसपछि प्रविधिले फड्को मार्‍यो, हामीले लय समात्न सकेनौं । १२ वर्षपछिको चार–पाँच वर्ष मलाई पनि चित्त बुझिरहेको थिएन । अब हामीचाहिँ समयभन्दा पछाडी भयौँ भन्ने लागेको हो ।

अनि अर्को कुरा, सबै त्यस्तै बन्नुपर्छ भन्ने थिएन तर केही त्यस्तो सिनेमा बीच–बीचमा बनिरहनुपर्थ्यो, जसले सही मानेमा समाजमा डिस्कोर्स चलाउन सकोस्, समाजसँग गम्भीर अन्तरक्रिया गरोस् । त्यसो नहुनुमा चाहिँ म निर्देशककै अभाव देख्छु ।

तपाईंको पृष्ठभूमिका कारण पनि अपेक्षा धेरै थियो । तर, फिल्म विकासको गति हेर्दा ‘ठिकठाक’मात्रै चलिरहेजस्तो देखिन्छ । यस्तो हुनुमा आफूलाई कतिको दोषी देख्नुहुन्छ ?

मैले फिल्म छायांकनका क्रममा लोकेसनमा गएर निर्देशकसँग छलफलचाहिँ गरिनँ नै भन्दा हुन्छ । निर्देशकलाई नै स्वतन्त्रता दिएँ ।

अहिलेको घडीमा फेरि म अलिकति सचेत पनि छु । एउटा समय मैले लगातार सिनेमा गरेता पनि अहिले मैले करिब ८ महिनामा केही नभएपनि कम्तीमा चार वटा स्क्रिप्ट त रिजेक्ट गरिसकेँ । किन गरेँ, अचम्म लाग्न सक्छ ।

समयले सबै कुरा निर्धारण गर्छ । मलाई लाग्छ, म अहिले नयाँ मोडमा छु । अहिले नेपाली चलचित्र मेकिङ, विषयवस्तु र दर्शकको स्वाद सबै हिसाबले परिवर्तन भइरहेको छ । चलचित्र ग्रहण गर्ने तरिका पनि पहिलेको भन्दा फरक भएको छ । सामाजिक मूल्यमान्यतामा पनि धेरै परिवर्तन भएको छ । पहिलेका फिल्ममा थिचोमिचो, अन्याय अत्याचार थियो भने अहिले आकांक्षा, सपनालगायतका भावना बढी देखिइरहेका छन् ।

त्यसैले उमेरअनुसार, समयअनुसार नयाँ ढंगबाट कसरी जानुपर्छ भनेर सोचिरहेको छु । खासगरी भन्नुपर्दा नयाँ सुरुवात गर्ने चरणमा छु । नयाँ सुरुवात गर्दा पहिलो गाँसमै ढुंगा पर्दिन्छ कि !

 

spot_img

Related articles

श्रीलंकालाई पराजित गरेसंगै नेपाल सेमिफाइनलमा

नेपाल साफ महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा...

काभा महिला भलिबल: आफ्नो पहिलो खेलमा नेपाल भारतसँग पराजित

नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा चिरपरिचित प्रतिनिद्वन्द्वी भारतसँगको पहिलो...

स्वस्तिमा खड्काको भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’को दुई सातामा पाँच करोड २५ लाख कमाइ…

रास्वपाका सांसद्‌माथि आफ्नै पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन् ।...

दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ले...

मन बिनाको धन दुईमा महेश त्रिपाठीको प्रवेश

प्रसिद्ध संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको...
advertisementspot_imgspot_img