‘गाउँका शब्द गाउँदा आनन्द लाग्छ’

सांगीतिक जगतमा छुट्टै पहिचान छ गायिका तृष्णा गुरुङको । पछिल्लो समय ‘कोल्याब ब्यान्ड’मा आबद्ध उनी आफैं गीत लेख्छिन्, संगीत दिन्छिन् । उनीसँग सिर्जना दुवाल श्रेष्ठले गरेको कुराकानीः

संगीतमा कसरी आकर्षित हुनु भयो ?

घरमा बुबाले बाँसुरी बजाइरहनु हुन्थ्यो । दाइहरू साथीलाई घरमा बोलाई गितार बजाउँदै ‘ज्यामअप’ गर्नुहुन्थ्यो । उहाँहरूको गीत सुनेर मलाइ पनि गाउने रहर हुन थाल्यो । २ कक्षा पढ्दादेखि नै गाउन र बजाउन रुचाउँथेँ । अलिक ठूलो भएपछि क्यासेट बजाएर गीत गाउन खोज्थेँ । दाइले गितार बजाएको हेरिरहन्थे । उहाँहरू बाहिर जानु भएपछि गितारमा उहाँहरूले जस्तै गरी बजाउन खोज्थेँ । गितार र गायनप्रतिको रुचि देखेर दाइले पनि सिकाउन थाल्नुभयो ।

सानोमा के बन्ने सपना थियो ?

कक्षामा कोही डाक्टर, इन्जिनियर, पाइलट, नर्स वा वकिल बन्ने लक्ष्य राख्थे । म भने सानैदेखि गायिका बन्छु भन्थेँ । त्यतिबेला सबै मलाई हेरेर हाँस्थे ।

पहिलो गीत कसरी रेकर्ड भयो ?

एसएलसीपछि काठमाडौंमा साथीसँग घुम्दा–घुम्दै रिबेल क्रियसनमा पुग्यौं । त्यसबेला स्याडोज् ब्याण्डका ‘११ः३० बसन’ संग भेट भयो । मलाई पनि संगीतमा रुची छ भने पछि लामै कुरा भयो । त्यहाँ गितार देखेँ । बजाउन मन लाग्यो । मैले गितार लिएर गीत गाउन थाले पछि उहाँले आफ्नो सोलो एल्बममा सँगै गाउन अफर गर्नुभयो । यसरी पहिलो गीत ‘दैव जानोस्’ रिलिज भयो । रक बेसको गीत धेरैले रुचाए । पछि कसरी निरन्तरता दिने आइडिया पनि भएन र पढाइलाइ पनि निरन्तरता दिनुपर्छ भनेर गायन ग्याप गरेँ ।

तपाईंलाई चिनाएको गीत ‘खनी हो यामु’ कसरी सिर्जना भयो ?

यो गीत दाइ मनिष गुरुङ र मेरो कम्पोजिसन हो । दुई कक्षामा पढ्दा दाइले गितारको प्लगिङमा ‘खनी हो यामु ए कान्छी’ भनेर बजाउनुहुन्थ्यो । म भने ‘खनी हो यामु ए कान्छा’ भनेर गाउँथे । दाइ अहिले युके आर्मीमा हुनुहुन्छ । मलाई भने त्यो भर्सन एकदम मनपर्ने । पछि त्यसमा शब्द थपेर कम्पोज गरँें । गीतलाई पूरा गरेर रिलिज गर्ने पुरानै सोच हो । समाजशाश्त्रमा मास्टर्स गर्दै गर्दा गीत पूरा गरेर रिलिज गरेँ । धेरैले रुचाउनुभयो र यसैले पहिचान पनि दियो । यसपछि मलाई कन्सर्टको अफर आउन थाल्यो । देश–विदेशमा कन्सर्टको लागि भ्याइ–नभ्याइ नै भयो ।

तपाईंको ट्रेण्ड बेग्लै र मौलिक मानिन्छ ? कसरी बन्छन् त्यस्ता गीत ?

बजारको ट्रेण्डअनुसार चल्न सक्नुपर्छ भन्ने मेरो सोच छ । तर के पनि सोच्छु भने अहिले आधुनिक, रक, वेस्टर्न गीत त सबैले गाउँछन् । सबैले त्यही गीत ‘फलो’ गर्दा नयाँ जेनेरेसनले ‘टिपिकल’ नेपाली गीत सुन्न पाउँदैनन् । सबैको टेस्ट उस्तै पनि हुँदैन । म रक गीत सुन्दै हुर्कें र त्यस्तै शैलीका गीत मनपर्थ्यो । समय र उमेरले व्यक्तिको सोचाइ र टेस्ट फरक हुँदै जाँदोरहेछ । मलाई अहिले झ्याङ झ्याङ झुङ झुङ गीत सुन्नै मन पर्दैन । ‘सफ्ट’ पाराका नेपाली मौलिक शब्द भएका गीत गाउन र सुन्न मन पर्न थालेको छ । त्यसैले म चलिरहेको ट्रेण्डको पछाडि लागेकी छैन । मलाई जे मनपर्छ, त्यही लेख्छु । संगीत दिन्छु र मनदेखि गाउने प्रयास गर्छु ।

तपाईंको गीतमा गाउँ भल्किन्छ । गाउँचाहिँ कत्तिको पुग्नुहुन्छ ?

हरेक समय गाउँघरलाई सम्झिन्छु । गाउँ शान्त लाग्छ । एक्लै बस्दा दिमागमा कति कुरा खेल्छन्, त्यसलाई गीत बनाउँछु । गाउँको भाषा, शब्द कोर्दा अनि गितारमा अभ्यास गर्दा आनन्द लाग्छ । गाउँ पनि पुगिरहन्छु । अहिले त गाउँघरबाट पनि धेरै कार्यक्रमको निम्ता आउन थालेको छ । ‘यो त हाम्रो मौलिक भाका गाउने गायिका हो’ पनि भन्छन्, खुशी लाग्छ ।

‘कभर सङ’ गाउन छोड्नुभयो ?

मैले ‘माया पिरती’ बोलको कभर सङमात्रै गाएको छु ।

पढाइ बीचैमा छोड्नुको कारण संगीत नै हो ?

मास्टर्स गर्दै गर्दा गीत हिट भयो । धेरै कन्सर्टको अफर आयो । आफूलाई मनपरेको विषयमा लाग्न पाउँदा पढाइमा समय दिन सकिनँ । संगीतलाई दोष दिनु भन्दा पनि मलाई मनपरेको विषयमा काम गर्ने मौका मिल्यो ।

घरवाट कतिको सहयोग छ ?

ममीले त ‘तिमीलाई जे मन लाग्छ त्यही गर्नू’ भन्नु हुन्थ्यो । तर, बुबाको भने पढाइ राम्रो हुनु पर्छ भन्ने मान्यता थियो । ‘खनी हो यामु’ गीत निस्केपछि बुबाले पनि ‘ओहो राम्रो गायौ’ भनेर स्याबासी दिनुभयो ।

तपाईंका लागि संगीत के हो ?

संगीतविना त म बाँच्न सक्दिनँ होला । मेरो बाँच्ने आधार नै संगीत हो ।

आफ्नो स्वभावचाहिँ कस्तो लाग्छ ?

म कमै बोल्थेँ । तर काम गर्दै जाँदा बोल्ने भएँ । यस क्षेत्रमा बोलेन भने त पछि परिन्छ नि ! संगीतले नै परिवर्तन ल्यायो । तर पनि सबैसँग छिटै खुल्न सक्दिनँ । रिजर्भ नै छु ।

‘सोलो करियर’बाट किन ब्याण्डमा आबद्ध हुनुभयो ?

डेढ वर्षअघि सिक्किममा भएको इभेन्टका लागि ब्यान्डको आवश्यकता पर्यो । एकजना ड्रमर साथीलाई ब्यान्डका लागि यो–यो खालको बाजा बजाउने व्यक्ति चाहियो भनेँ । त्यसपछि विभिन्न ब्यान्डका उत्कृष्ट म्युजिसियनहरु लिएर ‘कोल्याब ब्यान्ड’ बनाइयो । ब्यान्डमा हामी ६ जना छौं । लाइभ ब्यान्डमा गाउँदाको मज्जा ट्रयाकमा गाउँदा हुँदैन ।

ब्याण्डमा तपाईंबाहेक अरू त्यति परिचित हुनुहुन्न नि ?

डेढ वर्ष त भयो ब्यान्ड खोलेको । यहीबीच धेरै ठाउँमा ब्याण्डको कन्सर्ट भइसकेको छ । ‘कोल्याब ब्यान्ड’ भन्नासाथै ‘ए तृष्णा गुरुङ’को भन्ने त भएको छ । तर चिनिन्छ बिस्तारै । मलाई पनि परिचय बनाउन कति वर्ष लाग्यो । रातारात हिट भएकोे त होइन नि ।

ब्याण्डमा पनि तपाईंकै पाराका गीत गाउनुहुन्छ ?

मुख्यतः गीतको कम्पोजिसन म आफैँ गर्छु । वाद्यवादनमा साथीहरूले हेर्नुहुन्छ । कतिपय कुरा सल्लाहअनुसार परिवर्तन गर्छौँ ।

तपाईंका फ्यान कुन वर्ग र उमेरका छन् ?

मेरो गीत लोक बेसमा फ्युजन भएकाले होला, सबै जेनेरेसनले रुचाएको पाउँछु । कार्यक्रममा जाँदा टिनएजरदेखि बुढाबुढी पनि रमाएको पाउँछु ।

पहिलो पारिश्रमिक कति पाउनु भएको थियो र त्यसले के गर्नुभयो ?

जीवनमा पहिलो पटक गीत गाएर २५ सय रुपैयाँ पारिश्रमिक पाएकी थिएँ । त्यो पैसासाटेर परिवारका सबैजनालाई र मिल्ने साथीहरूलाई ५०÷२०को नोटमा आफ्नो नाम र दस्तखत गरेर बाडेँ ।

लकडाउनअघि कत्तिको व्यस्त हुनुहुन्थ्यो ?

सोलो र ब्याण्डवाट सांगीतिक कार्यक्रममा व्यस्त नै थिएँ । गाउँ, शहर, रेस्टुराँदेखि विदेशका कार्यक्रम निकै थिए । एल्बमको लागि नयाँ गीत पनि रेकर्डको लागि अभ्यास गरिरहेका थियौं ।

विदेशमा ब्याण्डको अफरचाहिँ कत्तिको आउँछ ?

विदेशमा बढीजसो सोलो नै अफर आउँछ । ब्याण्डलाई बोलाउँदा बजेट बढी हुने हुँदा कहिँकतैमात्रै ब्याण्डलाई बोलाउँछन् । अष्ट्रलिया, युके, युरोप, कोरिया, सिंगापुर, हङ्गकङ्गलगायतका देशमा एक्लै नै गएकी हुँ । देशभित्र भने ब्याण्डमा पनि उत्तिकै व्यस्त हुन्छु ।

अहिले के योजना बनाइरहनुभएको छ ?

होम रेकर्डिङ्ग गरेर भए पनि गीत रेकर्ड गर्न सुरु गरेकी छु । हप्ता–दश दिनभित्र नया“ गीत रिलिज गर्ने योजना छ ।

 

 

spot_img

Related articles

श्रीलंकालाई पराजित गरेसंगै नेपाल सेमिफाइनलमा

नेपाल साफ महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा...

काभा महिला भलिबल: आफ्नो पहिलो खेलमा नेपाल भारतसँग पराजित

नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा चिरपरिचित प्रतिनिद्वन्द्वी भारतसँगको पहिलो...

स्वस्तिमा खड्काको भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’को दुई सातामा पाँच करोड २५ लाख कमाइ…

रास्वपाका सांसद्‌माथि आफ्नै पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन् ।...

दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ले...

मन बिनाको धन दुईमा महेश त्रिपाठीको प्रवेश

प्रसिद्ध संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको...
advertisementspot_imgspot_img