कुनै समय नेपाली चलचित्र उद्योगमा एउटा भनाइ निकै हिट थियो— “हलमा पोस्टर मात्रै टाँसिदिए पुग्छ, दयाहाङ राईको नामले नै पैसा छाप्छ!” तर, समय सधैँ एकनास कहाँ रहन्छ र? पछिल्लो समय नेपाली सिनेमा जगत्का यी ‘बक्सअफिस किङ’ को स्टारडमको लय केही धर्मराएको हो कि भन्ने बहस फिल्म वृत्तमा तातेको छ। लगातारका केही कमजोर बक्सअफिस नतिजाले हलमा दर्शकको ‘दया-माया’ उनीप्रति घट्न थालेको संकेत गरेको छ।
पछिल्ला दुई-तीन वर्षको ट्रेन्डलाई हेर्ने हो भने दयाहाङको व्यावसायिक यात्रा कुनै रोलरकोस्टर राइडभन्दा कम देखिएको छैन।
वर्ष २०८१: आश गरिएका फिल्म ‘चिप्लिए’, लाज जोगाए दुई चलचित्रले
वर्ष २०८१ को सुरुवातमै नयाँ वर्षको अवसर पारेर ठुलो हाइपका साथ रिलिज भएको ‘डिग्री माइला’ ले सोचेजस्तो व्यापार गर्न सकेन। त्यसपछि प्रदर्शनमा आएको ‘मनसरा’ ले केही आशा अवश्य जगायो, तर त्यसपछिको यात्रा सुखद रहेन। ‘राजागञ्ज’, ‘कार्साङ’, ‘दुखी-आत्मा’ र ‘पिताम्बर’ जस्ता चलचित्र बक्सअफिसमा नराम्ररी चिप्लिए। यो वर्ष दयाहाङको साख जोगाउँदै ‘अञ्जिला’ र ‘घरज्वाई’ मात्र हिटको सूचीमा पर्न सफल भए।
वर्ष २०८२: सिक्वेलले पनि बचाउन सकेन साख!
यो वर्ष त दयाहाङका लागि अझ निराशाजनक साबित भयो। दर्शकले हुरुक्कै भएर पर्खिएको सुपरिट सिक्वेल ‘जारी २’ ले समेत बक्सअफिसमा कमाल गर्न सकेन। त्यसबाहेक ‘भुठान’, ‘महाभोज’, ‘वरिष्ठ बलराम’ र ‘मिरमिरे’ हलमा आए र कति बेला गए, पत्तै भएन। लामो समयपछि रिश्मा गुरुङको पुनरागमन भएका कारण प्रतिक्षित बनेको चलचित्र ‘रिमै’ त झन् ‘जेञ्जी (Gen Z) आन्दोलन’को चपेटामा परेर बक्सअफिसमा थला पर्यो।
वर्ष २०८३: ‘मितज्यू’ को सुस्त गति
यसै वर्ष जेठ ८ गतेदेखि प्रदर्शनमा आएको दयाहाङ राई, सौगात मल्ल र तेरिया मगर अभिनित बहुप्रतिक्षित चलचित्र ‘मितज्यू’ ले असारको पहिलो सातासम्म आइपुग्दा मात्र १ करोड ३२ लाख रुपैयाँको हाराहारीमा व्यापार गरेको छ। दयाहाङ र सौगात जस्ता दिग्गज कलाकारको क्रेज र स्टारडम अनुसार यो कमाइ निकै कमजोर हो।
के अब बक्सअफिस किङको साख ढलेकै हो त?
लगातारका असफलताले दयाहाङको एकल क्रेज र फिल्म छनोटको शैलीमाथि प्रश्न उठाए पनि नेपाली दर्शकको आशा उनीप्रति पूर्ण रूपमा मरेको भने छैन। फिल्म पण्डितहरू भन्छन्— “दयाहाङ त्यो घोडा हुन्, जो जुनसुकै बेला रेस जित्न सक्छन्।”
अब उनीसँग पुनरागमनका लागि दुईवटा बलिया हतियार बाँकी छन्:
-
‘पेन्सन पट्टा’: माओत्से गुरुङको निर्देशनमा बन्न लागेको यो चलचित्रबाट दयाहाङले बलियो कमब्याक गर्ने अपेक्षा गरिएको छ।
-
‘कबड्डी ५’: दयाहाङको आफ्नै सदाबहार र ‘एभरग्रीन’ ब्रान्ड! यो सिरिजको क्रेज नेपाली दर्शकमाझ कति छ भन्ने कुरा इतिहास साक्षी छ।



