म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सञ्चार र विद्युत् सुविधा विस्तार गर्ने योजना सर्वेक्षणमै सीमित भएको छ ।
गत माघमा नेपाल टेलिकम र विद्युत प्राधिकरणसहितको टोलीले सम्भाव्यता अध्ययन गरे पनि अहिलेसम्म कुनै ठोस योजना अघि नबढ्दा आधार शिविर पुग्ने पर्यटकहरू सञ्चारविहीन अवस्थाको समस्या झेल्न बाध्य भएका छन् ।
नेपाल टेलिकम,नेपाल विद्युत् प्राधिकरणका प्राविधिक,गाउँपालिका र स्थानीय पर्यटनकर्मीको सहभागितामा चार हजार ५० मिटर उचाईमा रहेको आधार शिविरमा सञ्चार र विद्युत सेवा पुर्याउनका लागि सर्वेक्षण गरिएको थियो ।
अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेको नेतृत्वमा नेपाल टेलिकम र विद्युत् प्राधिकरणका प्राविधिक तथा स्थानीय पर्यटनकर्मीहरूको टोलीले माघको पहिलो हप्ता आधार शिविरमा पुगेर सम्भाव्यताको अध्ययन सहित सर्वेक्षण गरेर फर्किएको थियो ।
नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको आधार शिविरमा विद्युत् र सञ्चार सुविधा पुर्याउनका लागि धेरै प्रयासपछि बल्ल सम्भाव्यता अध्ययन सहित सर्वेक्षण गरिएको थियो
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पाण्डेले भन्नुभयो, ‘‘नेपाल टेलिकम र विद्युत् प्राधिकरणबाट सम्भाव्यताको अध्ययन र सर्वेक्षण गरेपछि अहिले सम्म कुनै योजना आएको छैन । सर्वेक्षण गर्दा गाउँपालिकाको पचास हजार रुपियाँ खर्च पनि भएको छ । तर अहिले सम्म सम्बन्धीत निकायबाट कुनै ठोस योजना आएको छैन । चुनाव पछि सरकार परिवर्तनको असर पनि होला ।’’


